काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादवले नागरिकका खानेपानीको समस्या समाधान गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। पर्सा जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नागरिकका खानेपानीको समस्या समाधान गरेरै छाड्ने बताएका हुन्।
उनले भने, ‘म नागरिकको सेवामा खटिएको सेवक हुँ, देशको विकास र नागरिकको सेवा गर्नु मेरो पहिलो लक्ष्य हो। मैले जति सक्छु नागरिकको सेवाका कामहरू गर्दै आएको छु। नागरिकका खानेपानीको समस्या समाधान गर्नु मेरो प्रमुख लक्ष्य हो। जो म अन्त्य गराएरै छाड्ने छु।’
मन्त्री यादवले आफू खानेपानी मन्त्री भएपछि देशका विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा स्थलगत रूपमा खानेपानीका समस्याका विषयमा जानकारी लिएको र कतिपय ठाउँहरूमा अहिले पनि नागरिकले खानेपानी डोकोमा बोक्नुपर्ने बाध्यता रहेको पाएकाले त्यसका निकट भविष्यमै समाधान गर्ने प्रण गरेको दाबी गरे।