काठमाडौं। सिरहा जिल्लाको लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा खानेपानीको डिप बोरिङ जडान कार्य सुरु भएको छ। वर्षौंदेखि अलपत्र अवस्थामा रहेको खानेपानी आयोजनाको काम आइतबार नगरप्रमुख महेश चौधरीको पहलकदमीमा पुन सुरु गरिएको हो।
लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थानअन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवाक्लबको सहयोग तथा समन्वयमा सञ्चालित ‘द विकन परियोजना’बाट ६० लाख लागतमा बोरिङ जडान सुरु गरिएको नगरपालिकाले जनाएको छ। उक्त आयोजनाबाट एक हजार ४१ घरधुरीमा खानेपानी धारा जडान हुनेछ। यसबाट आठ हजारभन्दा बढी स्थानीय लाभान्वित हुने आयोजनाले जनाएको छ।
खानेपानी आयोजनाको अधुरो काम सञ्चालन भएसँगै अब यस क्षेत्रका नागरिकको खानेपानीको समस्या समाधान हुने नगरपालिकाले जनाएको छ।