काठमाडौं। कोशी प्रदेशमा पर्यटन विकासका लागि मुुन्धुम पदमार्ग निर्माण गरिने भएको छ। स्थानीय संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले वराहक्षेत्र नगरपालिकाबाट सुरु हुने प्रस्तावित मुन्धुम पदमार्गको योजना अगाडी बढाइएको हो।
पदमार्गमा आधारित पर्यटन विकास आयोजना वराहक्षेत्र नगरको वडा नम्बर ६ र ९ मा पर्ने कोशी टप्पु वन्यजन्तु आरक्षको उत्तरी सीमा हुँदै ठाकुरवारी, चक्रघट्टी, क्याम्पा चौरी (राजा महेन्द्र सिकार खेल्न बसेको ठाउँ), पुल्ठेगौडा (पृथ्वीनारायण शाहका सेना विजयपुर राज्य एकीकरणका लागि पुल्ठो बाली हात्ती चढेर कोशी तरेको ठाउँ), औलिया मठ, चतरा हुँदै, हिन्दुपती सेन राजाको दरबार, चावचा, बागदलबारी, अर्चले, लालकोटगढी, भवानीथान गढी, भवानीथान मन्दिर, सूर्यकुण्ड, वराहक्षेत्र मन्दिर हुँदै कोशी पुलबाट मैनामैनी हुँदै मुन्धुम पदमार्ग जोड्ने प्रस्ताव गरिएको छ ।
पदमार्गका लागि चालु आर्थिक वर्षमा १८ लाख रुपियाँ बजेट विनियोजन समेत भइसकेको बताइएको छ। स्विट्जरल्यान्ड सरकारको ५५ प्रतिशत लगानी र ४५ प्रतिशत नेपालले लगानी गर्ने गरी काम सुरु गरिएको छ ।