काठमाडौं। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु भएको छ। शुक्रबार पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि सुरुङ ब्रेक थ्रु गरिएको हो।
ब्रेक थ्रु का क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष बस दुर्घटना हुने, सवारी साधनहरु पहिरोमा पर्ने समस्याबाट नागरिक पीडित भएको समस्या देखेर त्यसलाई अन्त्य गर्न सुरुङ मार्ग बनाउन सुरु गरिएको बताए । उनले सुरुङ बनेपछि पाल्पा, पोखरा लगायत जिल्ला आवत जावत गर्न सुक्षित हुने र कुनै समस्या नआउने बताए ।
ब्रेक थ्रुपछि अब सुरुङभित्र फिनिसिङको काम सक्न डेढ वर्ष बढी लाग्ने सडक विभागले जनाएको छ। सम्झौताअनुसार उक्त मार्ग निर्माण कार्य ०८३ फागुनसम्म सक्नुपर्ने छ। रूख कटानलगायत कारणले काम गर्न नपाएको अवधिलाई गणना गर्दै निर्माण कम्पनीले भने ९ महिना म्याद थप मागेको छ।
निर्माण व्यवसायीले माग गरेको ९ महिनासमेत समय दिएर कुनै समस्या नआए उक्त अवधिभित्र निर्माणको काम सक्न समस्या नहुने बताइएको छ। आयोजनाका अनुसार ०७८ फागुनमा ठेक्का सम्झौता भए पनि सुरुङ खन्ने काम ०८० जेठबाट सुरु गरिएको थियो । त्यसअघि पूर्वतयारी र रूख कटानलगायत कारणले गर्दा सुरुङ खन्ने काम हुन सकेको थिएन ।