काठमाडौं। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गर्न ‘माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट’ कम्पनीले लगानी गर्ने भएको छ। जापान भ्रमणमा रहेका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाको पहलमा वैदेशिक लगानीमार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी विदेशमा निर्यात गर्न लगानी गर्ने सहमति भएको हो।
जापानलगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको सो कम्पनीसँग सिङ्गापुर, मलेसिया, दुबई, साउदी र कतारलगायतका देशमा पानी प्रशोधन गरी शुद्ध पिउने पानी निर्यात गर्ने समझदारी भएको छ।
जापानको भ्रमण ऐतिहासिक, सफल र उपलब्धिमूलक भएको उल्लेख गर्दै प्रमुख शेर्पाले यस परियोजनाले सोलुखुम्बु जिल्लामा प्रविधि, रोजगार, उत्पादन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गरी जिल्लाको आर्थिक समृद्धि हासिल गर्ने सोलुदुधकुण्ड नगरपालिकाको सपनालाई साकार पार्ने बताए।