काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तिका लागि भावी कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले यस्तो आग्रह गरेका हुन् ।
नेपालको संविधानले स्वच्छ खानेपानी र सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको भन्दै उनले १० माघमा खानेपानी तथा सरसफाइ नियमावली, २०८१ कार्यान्वयनमा आइसकेको बताए ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा बजेट घट्दो क्रममा रहेको र सन् २०३० सम्म सबैको पहुँचमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने दीगो विकास लक्ष्य हासिल गर्न चुनौती रहेको उनले बताए ।
आवधिक योजनाहरूले तोकेको लक्ष्य पूर्ण रूपमा हासिल गर्न नसकिएको अनुभव रहेको भन्दै उनले आर्थिक वर्ष २०८५/८६ सम्म पूरा गर्नुपर्ने सोह्रौं योजनाको लक्ष्य पनि अत्यन्त चुनौतीपूर्ण देखिएता पनि क्षेत्रगत लक्ष्यहरू पूरा गर्न सरकार लागि परेको उनले बताए ।