काठमाडौं। बिरामी बोकेर काठमाडौं जादै गरेको सुमो ओखलढुङ्गामा दुर्घटनामा परेको छ। खोटाङबाट काठमाडौंका लागि छुटेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा सुमोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया माया देवी गुरुङ, उहाँको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–का ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ ।
बिरामी माया देवी गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर गएको बुझिएको छ । सुमोमा चालकसहित चार जना सवार थिए । तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सुनसरीको इनरुवा निवासी २२ वर्षीय अनिल पण्डित फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।