काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाडौं जलमग्न भएको छ। बुधबार दिउँसो पाइप फुटेपछि पानीले जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका छन् ।
बबरमहलमा जलमग्न भएको स्थानमा सडक भासिएको छ । सडक भासिएपछि उक्त क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
मेलम्ची खानेपानी परियोजनाले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको जनाएको छ ।
सडक डिभिजन, काठमाडौंका साइट इन्जिनियर अर्जुन नेपालले पनि प्राधिकरणले ड्रिलिङ गर्दा नै पाइप फुटेपछि जलमग्न भएको बताए ।