पाल्पा। जिल्लाको रीब्दीकोट गाउँपालिकामा स्मार्ट टोल निर्माण हुने भएको छ। दुर्गम गाउँपालिकाका स्थानियलाई नयाँ प्रविधिसँग जोड्ने हेतुले रीब्दीकोट गाउँपालिकाले स्मार्ट टोल निर्माण गर्ने भएको हो ।
इन्टरनेटको माध्यमबाट सरकारी तथा गैरसरकारी संस्थाबाट प्राप्त गर्ने सेवालाई सहज बनाउनको लागि स्मार्ट टोल निर्माण थालिएको हो। गाउँपालिकाभित्रको दुर्गम गाउँ छानेर त्यहाँको ८ वटै वडामा स्मार्ट टोल गठन गरी स्मार्ट टोलमा स्मार्ट सूचना केन्द्र पनि स्थापना गरिएको छ। जसबाट विभिन्न सुविधाहरु उपभोग गर्न पाइन्छ।
केन्द्रमा राखेको स्वयंसेवकले सेवा उपभोग गर्न आएका सेवाग्राहीलाई इन्टरनेटबाट हुने साथै अन्य सेवाहरु दिने गर्दछ। केन्द्रमा आवश्यक पर्ने सबै खालको उपकरण तथा प्रविधिमा गाउँपालिकाले लगानी गरेको छ। जसले गर्दा दिन बिताएर तथा धेरै खर्च गरेर बजारमा जानु पर्ने बाँध्यता हटेको छ।
स्मार्ट टोल निर्माणको लागि गत आर्थिक वषर्मा २५ लाख र चालु आर्थिक वर्षमा १२ लाख बजेट विनियोजन गरेको छ। उक्त कार्यक्रममा दुर्गम बस्तीका परिवारलाई १० हजार अनुदान दिइएको थियो। सो अनुदान पाएपछि स्थानीयहरुले इन्टरनेट जडान गरिसकेका छन्। स्मार्ट टोल निर्माण गर्नुको उद्देश्य नागरिकको समय तथा पैसा वचत गर्नु रहेको छ।