काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सडकमा ढलको ढक्कनले जनतालाई सँधै दुख दिने गरेको बताएकी छन्। उनले आफू मन्त्री हुनुअघि सम्म स्कुटर चढेर हिँड्दा पनि धेरै पटक ढलको ढक्कनमा अल्झिएर लड्ने गरेको बताएकी छन्।
एक कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले इञ्जिनियरहरुलाई ढलको ढक्कन मिलाउन सक्ने भएर नआएसम्म सक्षम इञ्जिनियर मान्न नसकिने बताएकी हुन्। उनले इञ्जिनियरहरुलाई ढलको ढक्कन मिलाउने दिन कहिले आउने हो भन्दै व्यांग्यात्मक प्रश्न समेत गरेकी छन्।
उनले मन्त्रालयमा ढलको बिर्को मिलाउन जान्ने इञ्जिनियर कम भएको र ठूल्ठूला सहरी योजनाका कुरा गर्नेहरू धेरै भएको भन्दै व्यंग्य गरेकी छन्।
मन्त्री झाँक्रीले नयाँ बन्दै गरेको मन्त्री निवास हेर्न जाँदा कोठामा बिमैबिम देखेको भन्दै उनले हाम्रा इञ्जिनियरहरू ढलका बिर्का मात्रै मिलाउँदा नजान्ने नभएर गाउँका सुब्बा दाइले जतिको पनि इञ्जिनियरिङ गर्न नसक्ने देखेको बताइन्।
मन्त्री झाँक्रीले इञ्जिनियरहरूलाई दक्षता सुधार गर्न व्यवसायीक चुनौती दिएको बताइन्।
काठमाडौंका सडकमा ढलका ढक्कन नमिलेर यत्रतत्र हुन्छन्। ढलको ढक्कन र सडकको सतह नमिल्दा दुई पांग्रे सवारी साधन धेरै दुर्घटनामा परेको समेत देखिन्छ। पैदल यात्री समेत कतिपय ठाउँमा ढलको ढक्कनमा अल्झिएर लडेको देख्न सकिन्छ। यस विषयमा कसैले पनि गम्भीरतापूर्वक चासो दिएको देखिन्दैन तर मन्त्री झाँक्रीले शुक्रबार एक कार्यक्रममा यो विषयलाई प्रस्टसँग उठान गरेकी छन्।