काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले वर्षौंदेखिको धरानको खानेपानीको दीर्घकालीन समाधान गर्न मन्त्रालय लागिपरेको बताएका छन् । सोमबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेस गरेका थिए।
मागपत्र बुझ्दै मन्त्री यादवले धरानको खानेपानी समस्याका विषयमा आफूसहित सिङ्गो मन्त्रालय जानकार रहेको बताए । उनले भने, ‘त्यहाँको खानेपानीको दीर्घकालीन समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ ।” मन्त्री यादवले सो समस्या दातृ निकायसँगको सहयोगमा समाधान गर्ने आश्वासन समेत दिएका छन् ।
मन्त्रीसँगको भेटमा गर्मी सुरु भएकाले अहिले धरानमा खानेपानीको काकाकुल अवस्था सृजना भएकाले नागरिकलाई साह्रै दुःख भएको नगरप्रमुख राईले गुनासो गरे ।