काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले धरानमा खानेपाली उपलब्ध गराउन सरकार लागि परेको बताएका हुन् ।
उनले भने, “धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला ।”
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन संघीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए ।