काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि निर्देशन दिएका छन् । प्रमुख साहले बिहीबार पुरातात्विक महत्त्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा प्रमुख साहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमण, पानीको प्रवाह र निकासका बारेमा जानकारी लिएका थिए । भैरव हिटीभन्दा माथिल्लो भूगोलमा रहेको गङ्गाहिटीमा आउने पानीलाई भैरव हिटीमा आउने पानीको स्रोतका रूपमा उपयोग गर्न सुझाव प्राप्त भएपछि प्रमुख साहले पुरानो पानीको स्रोत पहिचान गरेर उपयोगको सम्भावना खोज्न निर्देशन दिएका हुन् ।
कामपा–७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ हिटी छन् । जसमध्ये आठ अस्तित्वमा छन् । वाहिटी, गङ्गाहिटी, गणेशधारा, भैरव हिटी र मित्र धारा वडामा भएका हिटी रहेका भन्दै सङ्कटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको उनले जानकारी दिए ।