रुपन्देही । बुटवलमा एक हार्डवेयर पसलका सञ्चालकविरुद्ध कर छलीको आरोपमा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देही सिद्धार्थनगर नगरपालिका–८ मा रहेको सुन्दर हार्डवेयर एन्ड प्लाइउडका सञ्चालक जोगेन्द्र अग्रहरीविरुद्ध मंगलबार अभियोग पत्र दायर गरेको हो ।
अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिल बिजक, खरिद खाता, विक्री खाता, लगायत अन्य आवश्यक कागजातहरू तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टि गरे बमोजिमको परिमाणभन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको कार्यालयले जनाएको छ ।
अग्रहरीले फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु, पेस गरेको मौज्दात विवरण भन्दा अधिक मालवस्तु गोदामबाट फेला परेको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ ।