मकवानपुर । जिल्लाको राक्सिराङ गाउँपालिकाले खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरेको छ । राक्सिराङ गाउँपालिका–५ ठाडोचुरीमा स्थापना गरिएको प्रयोगशालाको शुक्रबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उद्घाटन गरेका हुन् ।
राक्सिराङ गाउँपालिकाले पालिकाका स्थानीयहरुले प्रयोग गरिरहेका खानेपानीको गुणस्तर परीक्षण गर्न परीक्षण प्रयोगशाला स्थापना गरेको हो ।
विकट गाउँका खानेपानीको मुहान तथा धाराको पानीको गुणस्तर जाँच गरी स्थानीयको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरेको पालिकाले जनाएको छ । उद्घाटन गर्दै गापा अध्यक्ष मल्लले पानीकै कारणले पालिकाका बासिन्दा विभिन्न रोगबाट ग्रसित हुने गरेकाले पानीको गुणस्तर परीक्षण गर्न प्रयोगशाला स्थापना गरेको बताए ।
नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) सहयोगमा प्रयोगशाला स्थापना गरिएको हो । १२ लाख रुपैयाँ लागतमा स्थापित प्रयोगशालामा खानेपानीका विभिन्न ११ प्रकारका परीक्षण गरिने जनाइएको छ ।