काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–काभ्रेपलाञ्चोक सडक एकतर्फी मात्र सञ्चालन गरिएको छ । वर्षापछि हिलोका कारण सवारी साधन चिप्लिने जोखिम भएपछि सडक एकतर्फी बनाइएको हो ।
काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड एकतर्फी बनाएको भक्तपुर ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रे लगायत हल्का चारपाङ्ग्रे सवारी साधनहरू जगातीबाट च्याम्हसिंह हुँदै ताथली नाला सडकबाट बनेपा निस्कने गरी व्यवस्था मिलाएको समेत ट्राफिक प्रहरीले जनाएको छ ।
भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने जगातीमा रोकिएको छ । सूर्यविनायक धुलिखेल सडक निर्माणाधीन छ । यहाँ थोरै वर्षाका कारण पनि सडक हिलो हुने गर्छ ।