काठमाडौं । बझाङको साइपाल गाउँपालिकामा नेपाल टेलिकमको नेटवर्क चार दिनदेखि अवरुद्ध भएको छ । चट्याङ, हावाहुरी र असिना पानीका कारण यहाँ टेलिकमको नेटवर्क पूर्ण रुपमा अवरुद्ध भएको हो ।
नेटवर्क अवरुद्ध हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । मोबाइल सेवा नहुँदा विशेष गरी शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा तथा आपत्कालीन अवस्थामा ठूला समस्या आइपरेको स्थानीयले बताएका छन् । साइपालबासीले नेपाल टेलिकमको केन्द्रीय कार्यालय, काठमाडौँमा सेवा विस्तार र सुधारको माग गर्दै पत्र पठाएका छन् । उनीहरुले उपलब्ध सञ्चार सेवा पर्याप्त नहुँदा सर्वसाधारणको दैनिक जीवनयापन कठिन भएको पत्रमा उल्लेख गरेका छन् ।
पत्रमा अधिकांश ठाउँमा केवल २ जी नेटवर्क उपलब्ध हुँदा इन्टरनेट सेवा अत्यन्तै कमजोर भएको, कतिपय ठाउँमा त सेवा नै नपुग्ने अवस्था रहेको उल्लेख गरिएको छ ।