काठमाडौं। रुकुम पूर्व केन्द्रविन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको छ ।रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर बिहीबार साँझ ७:३४ बजेको समयमा भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो ।
पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् ।
भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।