काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।धनकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
उनले भने, “हामी एउटा ऐतिहासिक यात्राको प्रारम्भ गर्दैछौँ । आजको शिलान्यास समारोहले सङ्गुरीगढी गाउँपालिकाका–१ र २ वडाका बासिन्दाहरूका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात गरेको छ ।”
यसैगरी मन्त्री यादवले आज शिलान्यास गरिएको आयोजनाले यहाँका बासिन्दाहरूको दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको तथा यसले खानेपानी तथा सरसफाइ सेवाको सहज पहुँच सुनिश्चित गर्नेछ भन्ने आफूले विश्वास लिएको जानकारी दिए ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबिच संविधानअनुसारको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरि जनताको अधिकार सुनिश्चित गर्ने सङ्कल्प रहेको मन्त्री यादवले बताए ।