काठमाडौं। क्रियाशील ट्रेड युनियनहरूले काठमाडौं उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै खानेपानी मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । लिमिटेडमा क्रियाशील ट्रेड युनियनहरूले प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेलको कार्यक्षमतामाथि प्रश्न गर्दै राजीनामा माग गरेका हुन् ।
उनीहरुले वैशाख ३१ गतेभित्र पदत्याग गर्न अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका छन् । साथै पदत्याग नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
ज्ञापन पत्रमा लेखिएको छ, ‘उपत्यकाको खानेपानी वितरण व्यवस्थापनको क्षेत्रमा ज्ञान तथा अनुभव नभएतापनि वित्तीय क्षेत्रको पृष्ठभूमि भएकोले आर्थिक स्रोत जुटाई कम्पनीलाई प्रशासनिक तथा प्राविधिक क्षेत्रमा नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएकोमा १३ महिनाको कार्यकाल निराशाजनक रह्यो । कार्यरत कर्मचारीहरूको पेसागत सुरक्षा तथा वृत्ति विकास सुचारु गर्न असफल देखिनुभयो, खानेपानी उत्पादन, प्रशोधन, तथा वितरण र महसुल विलिङ्गमा काम गर्ने तह १ देखि ३ सम्मका पदहरूको जनशक्ति व्यवस्थापनमा असफल हुनु भएको कुरा आम कर्मचारी माझ घामजस्तै छर्लङ्ग छ ।’