काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा ‘नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना’ उद्घाटन गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले उक्त खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् ।
आयोजनाको निर्माण कार्यका लागि विसं २०७९ असार ९ गते सम्झौता गरिएको थियो । प्रारम्भिक योजनाअनुसार आयोजनाको कार्य विसं २०८२ असार ८ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको थियो ।
कार्य प्रगति र आवश्यक परिमार्जनपछि अन्तिम लागत रु ३७ करोड ९४ लाख ९० हजार ५२४ पुगेको बताइएको छ । यस आयोजनाले यहाँका नागरिकलाई स्वच्छता, स्वास्थ्य र समृद्धिका क्षेत्रमा सकारात्मक प्रभाव पुर्याउने विश्वास लिइएको छ ।
सुनकोशीको नाङ्गेडाँडा आयोजनाअन्तर्गत कुल दुई हजार ५३५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै प्रत्येक परिवारमा शुद्ध र सुरक्षित खानेपानी पुग्ने लक्ष्य लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख इञ्जिनियर हेराकाजी मर्हजनले जानकारी दिए ।