कलैया ।बाराको कलैया उपमहानगरपालिकामा विभिन्न आयोजनाको उद्घाटन तथा शिलान्यास गरिएको छ । खानेपानी मन्त्री प्रदीप यादवले सोमबार वडा नम्बर २६ को महेशपुरमा आयोजना गरिएको एक कार्यक्रमका बिच महेशपुर खानेपानी आयोजनाको शिलान्यास गरेका हुन् ।
करिब ९ करोडको लागतमा निर्माण हुन लागेको उक्त आयोजनाको प्रथम चरण अन्तर्गत खानेपानी ओभर हेडको बिधिवत पूजाआजा गर्दै उनले शिलान्यास गरेका हुन् । सो आयोजनाले कलैया उपमहानगरपालिकाका १५, २६ र २७ का करिब १५ हजार स्थानीय बासिन्दाहरूको दीर्घकालीन सपना साकार पार्ने दिशामा उठाइएको एक महत्त्वपूर्ण र ठोस कदमको रूपमा देखिएको छ। ।
गर्मीको मौसममा खानेपानीको विकराल समस्या हुने ती वडाहरूमा खानेपानी आयोजना निर्माण भएपछि नागरिकले राहतको अनुभूति गर्नेछन् । त्यस्तै मन्त्री यादवले कलैयाको वडा नं.८ स्थित खपरताता खानेपानी आयोजनाको विधिवत् रूपमा सेवा सञ्चालनको घोषणा गरेका छन् ।
नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरी सो प्रणाली संस्थागत रूपमा सञ्चालनमा आएको हो ।