काठमाडौं। सिन्धुलीको हरिहरपुर गाउँपालिका–४ हाक्पारा र ५ बोटेनीमा एक घर एक धारा अन्तर्गत खानेपानी आयोजना निर्माण हुन लागेको छ। गाउँपालिकाको वडा नं. ४ मा हाक्पारा खानेपानी आयोजना र वडा नं. ५ मा बोटेनी खानेपानी आयोजना निर्माण हुने भएको हो।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका हाक्पारावासी र बोटेनीवासीहरुको लागि खानेपानीे सुविधाको पहुँच पुर्याउने उद्देश्यले सो खानेपानी योजना निर्माण गर्न लागिएको आयोजनाका इञ्जिनियर भिष्मदिप सुनुवारले जानकारी दिएका छन्। हाक्पारा खानेपानी आयोजनाको अनुमानित लागत ७९ लाख, ६७ हजार ८ सय ३८ रुपैँया र बोटेनी खानेपानी आयोजनाको अनुमानित लागत ४७ लाख, ९९ हजार ९०४ रुर्पैँया रहेको इञ्जिनियर सुनारले बताएका छन्।
सो आयोजना निर्माणको लागि ३० दिने बोलपत्र आह्वान गरेको र त्यसपछि सबै प्रक्रियाहरु पुरा भैसकेपछि खानेपानी आयोजना निर्माण प्रक्रियालाई अघि बढाउने योजना रहेको इञ्जिनियर सुनारको भनाइ रहेको छ। यसैगरी हाक्पारा खानेपानी आयोजना निर्माण भएपछि हक्पाराका करिब ३२० घरधुरी लाभान्वित हुने र बोटेनी खानेपानी आयोजना निर्माण भएपछि करिब २०० घरधुरी लाभान्वित हुने इञ्जिनियर सुनारले जानकारी दिएका छन्।
लामो समयदेखि हाक्पारावासी र बोटेनीवासीले घर भन्दा टाढाको खोलाबाट पानी लिएर तथा कसैले घरमा नै इनार बनाएर त्यसमा पानी जम्मा गरेर पानीको प्रयोग गर्दै आएका उनले जानकारी दिएका छन्। गाउँमा नै खानेपानी आयोजना निर्माण हुने कुराले स्थानीयहरु हर्षित भएको उनले जनाएका छन्।