काठमाडौं । सुर्खेत शिवशक्ति धाम, पञ्चपुरीस्थित पञ्चपुरी नगरपालिका वडा नं. १, २ र ३ मा रहेको सालकोट वृहत् खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले उक्त आयोजनाको उद्घाटन गरेका हुन् ।
यो वृहत् खानेपानी आयोजनाबाट पञ्चपुरी नगरपालिका वडानं १, २, ३ का करिब दुई हजार ७७१ घरधुरीका कम्तिमा पनि १५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको छ ।
आयोजनाको स्वीकृत लागत रु २५ करोड ९१ लाख ८५ हजार ६६५ रहेको र ठेक्का स्वीकृत रकम भ्याट सहित कुल दश करोड ३० लाख ७३ हजार ०७३ रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतले जनाएको छ ।
आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य रहेको उल्लेख गरे ।
उनले भने, ‘यो आयोजना पूरा भएसँगै स्थानीय बासिन्दालाई स्वच्छ र पर्याप्त पानीको सहज पहुँच हुने छ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमै सकारात्मक प्रभाव पार्नेछ ।’