काठमाडौं। धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन्। उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत चार जना विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन्।
करिब चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत रु एक लाख ५० हजार रहेको विद्यार्थीले जानकारी दिए। निर्माण सम्पन्न भएको कारको नाम ‘सारअल्फा’ राखिएको छ।
चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन्। कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको कार निर्माण गर्ने विद्यार्थी रोहितले बताए। अर्का विद्यार्थी ऋषिकेशले भने, “अध्ययन सँगसँगै आफूहरुको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौं।”
गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा एक्सीस विद्याश्रम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। गर्ने चाहाना भयो भने गर्न नसक्ने केही नभएको उक्त विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थीबाट पुष्टी हुन्छ।