काठमाडौं । बाजुराको डाँडीपाटामा खानेपानी र सिँचाइ सेवा पुर्याउन काम सुरु गरिएको छ । चितवनका रोटरी क्लब अफ रत्ननगरले बाजुराको डाँडीपाटामा खानेपानी र सिँचाइको काम सुरु गरेको हो ।
रोटरी क्लब अफ रत्ननगरले रोटरी क्लब अफ होनोलुलु सनसेट अमेरिका तथा अमेरिकाका अन्य केही क्लबहरूबाट सहयोग जुटाएर खानेपानी र सिँचाइको काम थालेको क्लबले जनाएका छ । ६५ लाखको लागतमा खानेपानी वितरणसँगै सिँचाइको व्यवस्था गर्न लागिएको छ । उक्त गाउँमा ३८ घरधुरी रहेका छन् । सोही ठाउँमा रहेको सामुदायिक विद्यालयमा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।
बस्तीभन्दा करीब १ सय ५० मिटर तलबाट बूढीगङ्गाको पानीलाई लिफ्ट प्रणालीबाट करिब ८०० मिटर उचाइसम्म पुर्याउने र ‘रिजर्भ ट्याङक’ सङ्कलन गरी त्यहीबाट वितरण गरिने छ ।
चितवनका रोटरियनहरूले ग्लोबल ग्रान्टबाट ग्रामीण क्षेत्रमा यो आयोजना अघि बढाएका हुन् । बाजुराका उपभोक्ताहरूले रु ५ लाख बराबरको श्रमदान गरिरहेका छन् ।