काठमाडौं । भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन गर्ने भएको छ । उद्योग सञ्चालनका लागि समूहका अध्यक्ष मीनबहादुर गुरुङ, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले भूमि पूजासहित शिलान्यास समेत गरेका छन् ।
शिलान्यास कार्यक्रममा भाटभटेनीका सीओओ पानु पौडेलले नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधीकरणमा एक महत्वपूर्ण कदम चालेको बताए । उनले नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको समेत दाबी गरे ।
यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । स्थानीय जनशक्तिको परिचालन गर्दै त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिइएको भाटभटेनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।