काठमाडौं । जतुवा खानेपानी तथा सरसफाइ आयोजनाको स्वामित्व खानेपानी संस्थान विराटनगरलाई हस्तान्तरण भएको छ । आज खानेपानी मन्त्री प्रदीप यादवले मोरङको विराटनगर–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजना खानेपानी संस्थान विराटनगरलाई हस्तान्तरण गरेका हुन् ।
विराटनगर–१४ स्थित उक्त खानेपानीले दैनिक १७ लाख लिटर पानी छ हजार नागरिकलाई उपलब्ध गराउने छ । विसं २०६५ मा साढे आठ कट्ठा जग्गामा निर्माण गरिएको ओभरहेड ट्याङ्की सम्पन्न भएर सञ्चालनमा आउन सकेको थिएन । उक्त ट्याङ्कीबाट विराटनगरका वडा नं ८, १४, १०, १३ का बासिन्दालाई प्रतिव्यक्ति दैनिक एक सय २५ लिटरका दरले स्वच्छ खानेपानी उपलब्ध गराउन सकिने संस्थानका विराटनगर कार्यालयमा प्रमुख सन्तोष रौनियारले जानकारी दिए।
हस्तान्तरण कार्यक्रममा खानेपानी मन्त्री यादवले स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी जनताका घर घरमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
उनले सरकारले नागरिकलाई स्वच्छ खानेपानी पुर्याउने यस कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखेको स्पष्ट पारे। स्वच्छ खानेपानी जनतालाई उपलब्ध गराउन ‘एक घर, एक धारा’ योजना प्रभावकारी कार्यान्वयन गरिने उनले बताए।
मन्त्री यादवले सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कोशी प्रदेशमा पर्ने तराईका जिल्लामा स्वच्छ खानेपानी उपलब्ध गराउन सञ्चालनमा नरहेका ४० वटा ‘ओभरहेड ट्याङ्की’ सञ्चालनमा ल्याउन आगामी असार १६ गते ठेक्काका लागि विज्ञापन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी पुस मसान्तसम्म ३७ प्रतिशत जनतालाई स्वच्छ खानेपानी पुर्याउने र सतप्रतिशत आधारभूत पानी पुर्याउने लक्ष्यका साथ कार्य गरिरहेको जानकारी दिए।
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सङ्घीय सरकारले तराई क्षेत्रमा रहेका अधुरा आयोजना सञ्चालनमा ल्याउन सहयोगको आग्रह गरे। खानेपानीको अभावमा पहाडका जनताले बसाइँसराइ गर्ने गरेका भन्दै सोको अन्त्यका लागि सरकारको विशेष पहल गर्नुपर्नेमा जोड दिए।