काठमाडौं । मेलम्चीस्थित रिबर्मा खोलाबाट काठमाडौंमा खानेपानी ल्याएर दैनिक ८ करोड लिटर पानी वितरण गर्न सुरु गरिएको छ । सोमवार रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्कीको सफल परीक्षणपछि खानेपानी काठमाडौं ल्याएर वितरण गर्न सुरु गरिएको हो ।
सोमवार खानेपानीमन्त्री प्रदीप यादव सहितको टोली रिबर्मा खोलाको ट्यांकी निर्माण भएको क्षेत्रमा पुगेर सफल परिक्षण गरिएको थियो ।
परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङ मार्ग हुँदै सोमवार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौँ ल्याएर मंगलवारदेखि नियमित रुपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्ची आयोजनाको हेडबक्स नबन्दासम्मका लागि अस्थायी रुपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौँ ल्याइ वितरण कार्यको सुरुवात गरेको समेत समितिले जनाएको छ ।
अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको र वर्षातको बेलामा रिबर्मा खोलाबाट पाँचदेखि सात करोड लिटर पानी र बागमतीबाट पनि पाँचदेखि सात करोड लिटर पानी गरी कम्तिमा पनि १० देखि १४ करोड लिटर पानी यो वर्ष काठमाडौँ ल्याउनेगरी तयारी गरेको समितिले जनाएको छ ।