काठमाडौं । मोरङ जिल्लाको लेटाङ नगरपालिका–७ समलामा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको ३४ लाख लागतमा समला डाँडामा निर्माण गरिएको खानेपानी आयोजनाबाट गाउँटोलसम्म पानी वितरण गर्न सुरु गरिएको हो ।
यसअघि ट्यांकी निर्माण गरेर खानेपानीको मुहान कालीखोलादेखि ट्याङ्कीसम्म करिब ६ किलोमिटर क्षेत्रमा पाइपलाइन जडान गरिएको थियो । चालु आर्थिक वर्षमा लेटाङ नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेपछि स्थानीयको समेत लागत सहभागितामा टोल टोलसम्म पाइप लाइन विस्तार गरेर खानेपानी पुर्याइएको छ । खानेपानीको ट्याङ्कीबाट करिब तीन हजार मिटर पाइपलाइन विस्तार गरी विभिन्न टोलामा १३ वटा धारा पुर्याइएको छ । समला क्षेत्रका पँधेरे, गरगरे, तीनपाटा, भीरगाउँ, कार्तिके, गहिरी टोल, डाँडाटोल र लाम्टेका गरी ५७ घरधुरीलाई पुग्नेगरी धारा वितरण गरिएको पालिकाले जनाएको छ ।
खानेपानीको धारा टोल टोलमा पुगेपछि स्थानीयबासीको लामो समयदेखि पानीका लागि खोला, खोल्सा धाएर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।