काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ मा निर्मित खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको समुद्घाटन तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरेका हुन् ।
आयोजना बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नं ५, बूढानीलकण्ठ नगरपालिका, र केयुकेएलको संयुक्त समन्वयमा निर्माण भएको हो ।
उद्घाटन कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने बताएका छन् । मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सेवाको पहुँच पुर्याउन आवश्यक रणनीति बनाउन सरकार प्रतिबद्ध रहेको बताए। बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा पानीको समस्या हुन नदिन आफू निरन्तर क्रियाशील रहेको परिणाम स्वरुप आयोजना समयमै सम्पन्न भएको उनले बताए।
काठमाडौं उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि प्रयास भइरहेको मन्त्री यादवले जानकारी दिए।