काठमाडौं । आदिवासी जनजाति आयोगले काठमाडौँ– तराई/मधेस द्रुतमार्गको प्रस्थान विन्दुलाई डुकु छापमा सार्नुपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा सोमवार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा द्रुतमार्गको प्रस्थान विन्दु डुकु छापमा सार्नुपर्ने निष्कर्ष दिइएको हो ।
आयोजनाको प्रस्थान विन्दु खोकनामा राख्ने गरी काम अघि बढिरहेको छ । आयोगले खोकनामा जिरो प्वाइन्ट राख्दा सो क्षेत्रको धार्मिक तथा पुरातात्त्विक र सांस्कृतिक सम्पदाको अतिक्रमण हुने भएकोले यसलाई सार्नुपर्ने निष्कर्ष निकालेको हो ।
यस क्षेत्रमा रहेको नेवार समुदायले फास्ट ट्र्याकका कारण आफ्नो सांस्कृतिक धरोहरमा गम्भीर असर पर्ने देखिएको भन्दै खोकना क्षेत्रमा प्रस्थान विन्दु राख्न नदिन आन्दोलन गर्दै आएका थिए । उक्त क्षेत्र सांस्कृतिक महत्त्वको क्षेत्र भएको सम्बन्धमा समुदायको माग दाबीलाई नेपाल पर्यटन बोर्डको ‘खोकनाः द लिभिङ म्युजियम’ नामक बुकलेट र पुरातत्त्व विभागको २०७८ असार ३१ को पत्रले पुष्टि गर्ने समेत आयोगले जनाएको छ । यो अवस्थामा स्थानीयको माग अनुचित नरहेको निष्कर्ष निकालिएको हो ।