काठमाडौं । धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । धौलागिरि गाउँपालिकाले सङ्घीय सरकारबाट प्राप्त ५४ लाख लागतमा मुदीस्थित इटाली आधार शिविरदेखि स्वीस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग निर्माण गरेको हो ।
विनियोजित बजेट रु ४९ लाख तथा समुदायको रु पाँच लाख बराबरको श्रमदानबाट करिब साढे छ किलोमिटर पदमार्ग निर्माण गरिएको धौलागिरि हिमाल आरोहण पदमार्ग निर्माण उपभोक्ता समितिले जनाएको छ ।
आरोहण, धौलागिरिको फन्को मार्न र आधार शिविरसम्म पदयात्राका लागि आउने पर्यटकको सुविधाका लागि पदमार्ग, पुललगायतका पूर्वाधार निर्माण गरिएका हुन् । करिब एक किलोमिटर ढुङ्गाको सिँढी निर्माण गरिएको छ।