काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले अब भाडामा बस्ने (डेरावाल)सँग बढी शुल्क लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ। प्राधिकरणले तत्कालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी शुल्क लिएको पाइए लाइन काट्न सकिने उल्लेख भएको छ।
विनियमावलीअनुसार अब डेरामा बस्ने ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महसुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेवालालले सम्बन्धित विद्युत् वितरण केन्द्रमा उजुरी गर्न सक्ने छन्।
विद्युत् महसुलको हिसाबमा भने घरबेटीले गडबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरेको छ।
काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिटको दरले लिने गरेका छन्। जबकि प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र छ।
अब बढी महसुल लिएको प्रमाणसहितको उजुरी आए घरधनीलाई बोलाएर छलफल गर्ने र अटेरी गरेमा लाइन काटिने व्यवस्था भएको छ।
अन्यायपूर्वक विद्युत महसुल बढी लिइरहँदा पनि ग्राहकलाई चुप बस्नु परेपछि प्राधिकरणले भाडामा बस्नेले पनि छुट्टै मिटर लिनसक्ने र घरबेटीलाई कारवाही गर्ने व्यवस्था एकसाथ गरेको छ।
यस्तो समस्या काठमाडौंमा मात्र नभएर देश भरीनै रहेको छ। कतिपय घरेबटीले त उठेको युनिट र महसुलको हिसाब नै डेरावाललाई देखाउँदैनन्। जसले गर्दा उनिहरुले मनलागी मागेको रकम दिन डेरावालहरु बाध्य भएका हुन्छन्।