काठमाडौं । नेपाल वायुसेवा निगमले अत्याधुनिक जहाज मर्मत प्रविधि सुरु गरेको छ । निगमले बिहीबारदेखि ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन’ सेवा सुरु गरेको हो ।
यस प्रविधि सञ्चालनमा आएपछि यस्तो परीक्षणका लागि बाह्य कम्पनीमा पठाउँदा लाग्ने खर्च बचत हुने निगमको दाबी छ ।
निगमले यो सेवा अन्य वायुसेवा कम्पनीहरूलाई पनि उपलब्ध गराएर अतिरिक्त आम्दानी गर्ने लक्ष्य लिएको छ । नयाँ सेवाको सुरुवातसँगै निगम जहाजका ह्विल तथा ब्रेक युनिटको मर्मतमा प्रयोग हुने तीन वटा एनडीटी प्रविधिमा आत्मनिर्भर बनेको छ ।
अब निगमको मर्मतशालामै ‘एडी करेन्ट इन्स्पेक्सन’, ‘फ्लोरोसेन्ट पेनिट्रान्ट इन्स्पेक्सन’ र ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन’ सम्बन्धी सम्पूर्ण काम गर्न सक्ने क्षमता विकास भएको छ ।
वायु सेवा निगमले जारी गरेको विज्ञप्ति अनुसार, निगमले यसअघि नै ह्विल तथा ब्रेक युनिट मर्मतका लागि आफ्नै ‘नाइट्रोजन प्लान्ट’ स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ ।