इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । सडकअन्तर्गत जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत यातायात सञ्चालनको तयारी थालिएको हो ।
जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत धमाधन डाइभर्सन निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा १० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको छ । डाइभर्सन र पहुँच मार्ग निर्माण आज साँझसम्ममा सम्पन्न गर्ने योजना रहेको सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले बताए ।
यही असोज १८ गतेको भारी वर्षापछिको बाढीले यहाँ गत असारमा निर्माण गरिएको बेलिब्रिज बगाएपछि यो सडकमा यातायात अवरुद्ध छ ।