पोखरा । पोखरामा गण्डकी प्रदेशकै पहिलो आइएसओ सर्टिफाइड सिभिल ल्याब सञ्चालनमा आएको छ । गण्डकीको सेरोफेरोमा रहेका केही सिभिल इन्जिनियरहरु मिलेर गत असोज १ गतेदेखि 'अन्नपूर्ण टेक्नो सोलुसन्स प्रा.लि' नामक ल्याब सञ्चालनमा ल्याइएको हो ।
यस ल्याबमा माटो परीक्षणका साथसाथै निर्माण सामाग्रीमा प्रयोग हुने सम्पूर्ण सामाग्रीहरु सिमेन्ट, डन्डी, गिट्टी, बालुवा, इट्टा लगायतको परीक्षण हुने बताइएको छ ।
कम्पनी रजिस्ट्रार कार्यलय हुँदै कर कार्यलयमा दर्ता गरी गुणस्तर तथा नाप तौल विभाग र पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसबाट मान्यता प्राप्त गरी यो ल्याब सञ्चालनमा ल्याइएको यसका सञ्चालक इन्जिनियर विशाल बरालले बताए । अन्तर्राष्ट्रिय सस्था आइएसओबाट समेत स्वीकृत लिइ गण्डकी प्रदेशमै पहिलो पटक ल्याब सञ्चालनमा ल्याइएको बताइएको छ।
निर्माण सामाग्रीमा हुने कम गुणस्तरयुक्त सामानको प्रयोगका कारणले विभिन्न ठाउँमा समस्या आइरहेकाले उक्त समस्यालाई न्यूनीकरण गरी ग्राहकलाई सस्तो र गुणस्तरीय सेवा दिन ल्याब सञ्चालनमा ल्याइएको सञ्चालक इन्जिनियर निरोज लामिछानेले बताए ।