काठमाडौं। काठमाडौं उपत्यकामा केही दिनदेखि विद्युत अनियमित हुन थालेको छ। उपत्यकाका धेरै स्थानमा बत्ति जाँदै आउँदै गर्ने समस्या भएको हो।
विद्युत अनियमित हुँदा घरमा मात्र नभएर कार्यालयका काममा समेत समस्या भइरहेको उपत्यकाका विभिन्न स्थानबाट गुनासो आइरहेका छन्।
विशेष गरेर सिंहदरबार क्षेत्र, बानेश्वर, स्वयम्भू, अनामनगर, कीर्तिपुर, गौशाला, बसुन्धारा त्यसैगरी ललितपुरका इमाडोल, टीकाथली, चापागाउँ लगायतका क्षेत्रमा विद्युत् अनियमित भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणले ठाउँ–ठाउँमा विभिन्न समस्याका कारण विद्युत अनियमित भएको र मर्मत कार्य भइरहेको जनाएको छ। कतै ट्रान्सफर्मर र कतै केवलहरूमा समस्या आइरहेकाले पनि मर्मत भइरहेको प्राधिकरणले जनाएको छ।
वर्षाका कारणले पनि समस्या भइरहेको र मर्मत समेत समयमा गर्नका लागि समस्या भएको प्राधिकरणले बताएको छ। प्राधिकरणले कतै तार चुँडिएको, कतै रुखले तारमा छोएको र कतै भने ट्रान्सफर्मर ओभरलोड भएर समस्या भएको बताएको छ।