सिरहा । सिरहाको रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, लाहानको शव गृहमा राखिएको किशोरी निशा बानियाँको शव अर्कैलाई जिम्मा लगाइएको घटनाको विरोधमा आफन्तजनले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
सोमबार दिउँसो १२ बजेदेखि शव फिर्ता माग्दै र घटनामा संलग्न अस्पताल प्रशासनमाथि कारबाहीको माग गर्दै स्थानीयबासीले सडक अवरुद्ध गरेका थिए। अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.रञ्जीत झा र अध्यक्ष रामनारायण मेहतामाथि कारबाहीको माग गरिएको थियो।
घटना गत शनिबार भएको थियो। सिरहाको गोलबजार–३ निवासी पूर्णबहादुर बानियाँकी १७ वर्षीया छोरी निशा बानियाँ आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टमका लागि शव रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, लाहान पठाइएको थियो। सोही दिन सप्तरीकी १६ वर्षीया राधिका साहको शव पनि अस्पतालमा ल्याइएको थियो। तर, पोस्टमार्टमपछि अस्पतालले गल्तीले निशाको शव राधिकाको भन्दै उनका आफन्तलाई जिम्मा दिएको थियो।
निशाका आमाबुबा वैदेशिक रोजगारीका क्रममा भारतको मुम्बइमा थिए। छोरीको मृत्युको खबर पाएपछि उनीहरू सोमबार बिहान नेपाल फर्किए। तर, शव हेर्दा आफ्नी छोरी नभएको पत्ता लाग्दा घटना बाहिर आएको हो।
घटनापछि आक्रोशित बनेका मृतकका आफन्त र स्थानीयवासीले राजमार्ग अवरुद्ध गर्दै शव फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।
छानबिन समिति गठनपछि ४ घण्टापछि खुल्यो राजमार्ग
घटनाको गम्भीरता हेर्दै प्रादेशिक अस्पताल लाहानले पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि करिब चार घण्टापछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ।
सहमति अनुसार अस्पतालका प्रमुख डा.रञ्जीत झालाई तत्काल कार्यालय प्रमुखको जिम्मेवारीबाट हटाइएको छ। साथै, एक जना प्रहरी निरीक्षक, एक जना मेडिकल विशेषज्ञ, मृतक परिवारको तर्फबाट एक जना प्रतिनिधि, सोही वडाका वडा अध्यक्ष धनप्रसाद लामा र इलाका प्रशासन कार्यालय लाहानका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
समितिले निष्पक्ष छानबिन गरी दोषी देखिए कडा भन्दा कडा कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको प्रहरीले जनाएको छ।
यता, इलाका प्रहरी कार्यालय लाहानले राधिका साहका दुई जना आफन्तलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाको विस्तृत छानबिनपछि थप कारबाही अघि बढाइने सिरहा प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन्।