काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । राजधानी ढाकास्थित पूर्वाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले १० वर्षको जेल सजाय सुनाएको हो ।
ढाका विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश रोबिउल आलमले सोमबार दुई फरक–फरक मुद्दामा प्रत्येकमा पाँच–पाँच वर्षको सजाय सुनाउँदै कुल १० वर्षको कैद तोकेका हुन् । उही मुद्दामा शेख हसिनाकी बहिनी शेख रेहानाकी छोरी तथा बेलायती सांसद टुलिप रिजवाना सिद्दिकलाई प्रत्येक मुद्दामा दुई–दुई वर्ष गरी कुल चार वर्षको जेल सजाय सुनाइएको छ । त्यस्तै, अजमिना सिद्दिकलाई एक मुद्दामा सात वर्षको कैद सजाय दिइएको छ भने शेख हसिनाका छोरा रदवान मुजिब सिद्दिक (बोबी) लाई पनि सात वर्षको जेल सजाय सुनाइएको छ ।
टुलिप सिद्दिक शेख हसिनाकी भतिजी तथा पूर्व बेलायती मन्त्रीसमेत हुन् । अदालतले यस मुद्दामा ३१ जना साक्षीको बयान लिएको थियो । भ्रष्टाचार निवारण आयोग (एसीसी) का सहायक निर्देशक अफनान जन्नत कियाले अन्तिम अभियोजन साक्षीका रूपमा बयान दिएका थिए ।
भ्रष्टाचार निवारण आयोगले जनवरी १३, २०२५ मा १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो भने अनुसन्धानपछि मार्च १०, २०२५ मा १८ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो । अदालतले जुलाई ३१, २०२५ मा अभियोग निर्धारण गर्दै सुनुवाइ सुरु गरेको थियो ।
यसैबीच, पुर्बाचल परियोजनाअन्तर्गत १० कठ्ठा जग्गा प्राप्त गर्न अधिकार दुरुपयोग र अनियमितता गरेको आरोपमा दायर गरिएको अर्को मुद्दामा पनि यही अदालतले शेख हसिना, उनका भतिजा रदवान मुजिब सिद्दिक तथा उनकी बहिनी टुलिप सिद्दिकसहित १८ जनाविरुद्ध फागुन २ गते फैसला सुनाएको हो ।
बंगलादेशमा सन् २०२४ जुलाईमा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि अगस्ट ५ मा शेख हसिनाले भारतमा शरण लिएकी थिइन् । त्यसपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भई शेख हसिना, उनका मन्त्रिपरिषद् सदस्य तथा अवामी लिगका नेताकार्यकर्ताविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ ।