नवलपरासी। राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या हुन थालेको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो।
बिहीबार मात्रै अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजसो नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या भएको थियो। यस्तो समस्या नवलपुरमा अहिले पटक–पटक हुन थालेको छ। मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन्। नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोन दुवैमा समस्या हुने गरेको छ।
जिल्लाको गैँडाकोट थुम्सीबाट दाउन्नेसम्मका सेवाग्राही समस्यामा पर्दै आएका छन्। गैँडाकोट बजार क्षेत्रबाहेक अन्य ठाउँमा बाटो विस्तारको क्रममा अप्टिकल फाइबर काँटिदा समस्या भएको हो।