काठमाडौं। काभ्रेको रोशी गाउपालिका–५मा सानी खोला लिफ्ट खानेपानी आयोजना निर्माण हुने भएको छ। गाउँ कार्यपालिकाको कार्यलयले सो खानेपानी आयोजना निर्माण गर्न लागेको हो।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका रोशीका स्थानीयहरुको घरघरमा खानेपानीको पहुँच पुर्याउने उद्देश्यले सो आयोजना निर्माणको योजनालाई अघि बढाइएको हो। खोला वा कुवाँको दुषित पानी पिउँदै आएका स्थानीयले अव सफा र शुद्ध पानी पिउँन पाउने भएका छन्। उक्त खानेपानी योजना निर्माण भएपछि त्यहाँका सबै घर लाभान्वित हुने भएका छन्। यस खानेपानी आयोजना निर्माणको अनुमानित लागत करिब ५८ लाख रहेको छ।
गाउँपालिकाले सानी खोला लिफ्ट खानेपानी आयोजना निर्माणको लागि ठेक्का आह्वान गरिसकेको छ। ठेक्का प्रक्रिया पुरा भएपछि खानेपानी आयोजना निर्माणलाई तिव्रता दिने गाउँपालिकाको योजना रहेको छ। सानी खोलाको पानीलाई लिफ्ट प्रणलीबाट माथि तानेर कुनै एउटा कुवाँ निर्माण गरी त्यसमा संकलन गरेर स्थानीयलाई वितरण गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ। गाउँमा नै खानेपानी आयोजना निर्माण हुने भएपछि स्थानीयहरु खुसी भएका छन्। साथै सो खानेपानी आयोजना निर्माण भएपछि रातीदेखि पानी लिनको लागि खोला तथा कुवाँमा गएर लाइन बस्नु पर्ने बाध्यताको पनि अन्त्य हुने भएके छ।