काठमाडौं। कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको छ। नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाली उद्योगहरूको क्षमता उपयोग ६ प्रतिशतले वृद्धि भएको हो।
परिसंघको दोस्रो औद्योगिक अवस्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा उद्योगहरू आफ्नो कूल क्षमताको ७०.५ प्रतिशत उपयोगमा चलिरहेका छन्। जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासमा उद्योगको क्षमता उपयोग ६४.८ प्रतिशत थियो ।
अहिले पनि ६१.८ प्रतिशत उद्योगले ऊर्जाका लागि जेनेरेटर सञ्चालन गर्ने गरेको अध्ययनले देखाएको छ। यसले उद्योगको लागत मासिक ५ प्रतिशतले बढाएको पनि अध्ययनले देखाएको छ। अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औसत ८.७ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औसत ७.७ प्रतिशत, उत्पादनमूलक उद्योगले औसत ८.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसत ८.२ प्रतिशत ब्याज तिरेका छन्।