काठमाडौँ — संयुक्त राज्य अमेरिकाले रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइएको शुक्रबार जनाएको छ।
अमेरिकाले इरानविरुद्ध आफू र इजरायलले गरेको युद्धको आर्थिक प्रभाव कम पार्ने उद्देश्यले अन्य देशलाई रुसी इन्धन किन्ने अनुमति दिने निर्णय गरेको हो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्टका अनुसार युद्धका बेला ‘विश्वको ऊर्जा बजारमा स्थिरता’ कायम राख्न अस्थायी उपायस्वरूप उक्त निर्णय लिइएको हो।
अमेरिकाले समुद्रमा रहेका रूसी पानीजहाजमा भरिएको तेल मात्र किन्न पाउने गरी रुसी तेल किन्न नपाउने प्रतिबन्ध एप्रिल ११ सम्मका लागि फुकुवा गरेको हो ।
ुयो तत्कालीन उपाय ’ट्रान्जिट’मा भएको तेलका लागि मात्र हो र यसबाट रुस सरकारलाई खासै आर्थिक लाभ पुग्दैनु, बेसन्टले भने।
रुसले अहिले झन्डै १० करोड ब्यारल तेल ट्रान्जिटमा भएको बताएको छ।
खाडीमा कम्तीमा थप तीनवटा तेलवाहक पानीजहाज आक्रमणमा परेपछि बिहीवार विश्व बजारमा तेलको मूल्य फेरि प्रतिब्यारल १०० डलर नाघेको थियो।
तेल ढुवानी गर्न प्रयोग हुने जलमार्गमा इरानले अवरोध सिर्जना गर्दै र मालवाहक पानीजहाजहरूमा आक्रमण गर्दै आएको छ। खाडीमा तेल उत्पादन गर्ने स्थलहरू पनि आक्रमणको निसानामा परेका छन्।