काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ ।
लेबनानमा इजरायलले गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो कदम चालेको हो । यससँगै तेल बोकेका ट्यांकरहरु बीच बाटोबाटै फर्किएका छन् ।
इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द भएपछि खाडी क्षेत्रबाट बाहिर निस्कन लागेका थुप्रै तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किन र पर्सियन खाडीको भित्री भागमै रहन बाध्य भएका छन् ।
यसअघि, अमेरिका र इरानबीच मंगलबार भएको दुई हप्ता लामो युद्धविरामपछि बुधबार बिहान ग्रीसको बल्क क्यारियर एनजे अर्थ र लाइबेरियाको झण्डा बोकेको डेटोना बीच नामका दुई जहाजले पहिलो पटक यो जलमार्ग पार गरेका थिए । मरिन ट्राफिकको तथ्याङ्कले ती जहाजहरूले यात्रा सुरु गरेको देखाएको थियो ।
तर, इजरायलले लेबनानभरि गरेको ठूलो स्तरको हवाई आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएपछि स्थिति अचानक तनावपूर्ण बनेको हो । इरानको अर्ध–सरकारी समाचार एजेन्सी फार्सका अनुसार, लेबनानमा भएको आक्रमणको विरोधमा इरानले हर्मुज जलसन्धिबाट हुने सम्पूर्ण तेल ट्याङ्करको आवतजावत रोकिदिएको छ ।
सिपिङ एनालिटिक्स फर्म केप्लरको रिपोर्ट अनुसार, मंगलबारसम्म यस क्षेत्रमा १८७ वटा तेल ट्याङ्करसहित १,००० भन्दा बढी जहाजहरू पालो पर्खिरहेका थिए । सामान्य अवस्थामा पनि यति धेरै जहाजहरूलाई त्यहाँबाट बाहिर निस्कन दुई हप्ताभन्दा बढी समय लाग्ने बताइएको छ ।
यसैबीच, इरानको पोट्र्स एण्ड म्यारिटाइम अर्गनाइजेसनले बुधबार एक सुरक्षित नेभिगेसन चार्ट जारी गरेको छ । जसमा सबै जहाजहरूलाई बारुदी सुरुङको जोखिमबाट बच्नका लागि तोकिएको मार्ग कडाइका साथ पालना गर्न सचेत गराइएको छ । विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा यही जलसन्धि भएर जाने भएकाले यसको बन्दले विश्वव्यापी तेल बजार र आपूर्ति शृङ्खलामा गम्भीर असर पर्ने अनुमान गरिएको छ ।