काठमाण्डौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरुप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी दिएका छन्।
मुख्यमन्त्री पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक साधारणसभाको शनिबार शुभारम्भ गर्दै प्रदेशभित्र एक हजार ५०० खानेपानीका आयोजना सञ्चालनमा रहेको र ती मध्ये ४२२ आयोजना सम्पन्न भइसकेको बताए।
गण्डकी प्रदेशमा अहिले तीन अर्ब ६८ करोड लागतका खानेपानी आयोजना सञ्चालन भइरहेका छ। यही अवसरमा मुख्यमन्त्री पोखरेलले सुन्दरपुर डाँडामा रहेको संस्थाको एक लाख लिटर क्षमताको ओभरहेड ट्याङ्कीको उद्घाटनसमेत गरेका थिए।
उक्त कार्यक्रमका गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले सुरक्षित खानेपानीको सन्दर्भमा उत्कृष्ट काम गरेको जलुकेले सरसफाइका क्षेत्रमा समेत थप कार्यक्रम गर्न सुझाव दिइन्।