काठमाडौं। दाङको राप्ती गाउँपालिका वडा नम्बर १ अन्तर्गतको माछीताल र खर्कमा सोलार सिस्टमबाट सिँचाइ तथा खानेपानी उपलब्ध गराइन थालेको छ। पालिका कार्यालय तथा नामसालिङ सामुदायिक विकास केन्द्रको सहकार्यमा सोलार सिस्टमबाट उक्त स्थानमा सिँचाइ र खानेपानी व्यवस्थापन गरिएको हो।
पालिकाको दुई विकट बस्तीमा खानेपानी तथा सिँचाइको सहज सुविधा दिने उद्देश्यले सोलार लिफ्टिङ खानेपानी तथा सिँचाइ आयोजना निर्माण गरिएको हो। माछीतालको सोलार लिफ्टिङ सिँचाइको निर्माण सम्पन्न भएको छ भने खर्कको खानेपानी योजना निर्माणको अन्तिम चरणमा रहेको छ। यी दुवै आयोजनाको स्थलगत अनुगमन गरिएको छ। माछीतालको सिँचाइ आयोजना निर्माण अवलोकनपछि राप्ती गाउँपालिका अध्यक्षले नागरिकको सेवाका लागि सिँचाइ व्यवस्था गरिएपछि जीवनस्तरमा सुधार आउने र खानेपानीका लागि सास्ती भोग्नु नपर्ने विश्वास व्यक्त गरेका छन्।
माछीताल सुक्खा क्षेत्र भए पनि सोलार सिँचाइले गहुँ, मकै, तरकारी उत्पादन तथा सरसफाइमा सहज हुने गाउँपालिकाका अध्यक्षले जनाएका छन्। यसैगरी निर्माणको अन्तिम चरणमा रहेको खर्कको खानेपानी आयोजना त्यहाँका नागरिकलाई खानेपानीको सहज पहुँचमा पुर्याउन सञ्चालनमा ल्याइएको गाउँपालिकाको उपाध्यक्षको भनाइ छ। करिब २८ लाख रुपैयाँ लगानीमा माछीताल सिँचाइका निर्माण भएको छ।
यसैगरी खर्कको खानेपानी योजनामा गाउँपालिकाको ९ लाख र नामसालिङको ६ लाख रुपैयाँ लगानी रहेको छ। उक्त खानेपानी योजना स्थानीय वगासोती खोलामा निस्किएको मूललाई व्यवस्थित गरी २ स्थानमा रिजर्भ ट्यांकी निर्माण गरेर सञ्चालन गरिएको हो। अटोमेटिक सोलार सिस्टमबाट पानी सञ्चालन हुने प्रविधिमार्फत खानेपानी वितरण गरिने योजना रहेको छ।