काठमाडौं । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष र सडकमा मानिसहरूको भीड देखिएको छ ।
फुटेजअनुसार प्लाजा भेनेजुएला लेखिएको संकेत नजिकै स्थानीय बासिन्दाहरू सडकमा भेला भएका छन् । भूकम्पपछि मानिसहरू सुरक्षित स्थानतर्फ निस्किएको दृश्य पनि देखिन्छ ।
त्यस्तै, सडकमा ढुंगा र भवनका टुक्राहरू छरिएको देखिन्छ भने केही स्थानमा पर्खालहरू भत्किएको र ठूलो मात्रामा फोहोर तथा भग्नावशेष जमेको देखिएको छ । भूकम्पपछि काराकाससहित अन्य प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको प्रारम्भिक विवरणहरूले देखाएका छन् ।
भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ ।
स्रोतका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो । दुवै भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको बताइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक मूल्याङ्कनअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ३० प्रतिशत रहेको जनाइएको छ । ।