काठमाडौं। डोल्पाका ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका भित्र कभरेज रहने गरी ठूलीभेरी नगरपालिका–७ जुफालस्थित सञ्चालनमा रहेको टावर दैनिक १२ घण्टा बन्द हुने गर्दछ। यसले त्यहाँका स्थानीयले टेलिफोन सेवा लिन १२ घण्टा कुर्नुपर्ने बाध्यता रहेको छ।
टावर सञ्चालन गर्नका लागि राखिएका सोलारले काम नगर्दा घाम लाग्ने समयमा मात्र टावर सञ्चालनमा रहने र अन्य समय टावर बन्द रहने गरेको त्यहाँका स्थानीयले जानकारी दिएका छन्। यसैगरी जिल्लाको दुनैमा रहेको जैरीगाड जलविद्युत आयोजनामा प्राविधिक समस्या आएर बन्द भएपछि विद्युत आपूर्ति बन्द भएसँगै त्यसको मारमा टेलिफोन टावर पनि परेको नेपाल टेलिकम डोल्पाले जानकारी दिएको छ।
जुफाल टावरबाट उपलब्ध फोन सेवा लिन त्यहाँका सर्वसाधारणहरू हाल आकाश हेर्न बाध्य भएका छन्। ब्याट्री ब्याकअपको अभावमा प्रत्येक दिन बिहान बेलुकीनै टावर जाने गरेपछि सर्वसाधारणहरू आकाश हेर्न बाध्य भएका हुन्। यसले डोल्पाका यी दुई पालिकाको सञ्चार क्षेत्रमा प्रभाव पारेको छ। सञ्चार माध्यमबाट गर्नुपर्ने काम पनि टावरमा समस्या भएको कारण कठिन भएको छ। तर हाल यसबारे कसैको ध्यानाकर्षण हुन सकेको छैन्।