नुवाकोट । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट नुवाकोटमा भएको मानवीय तथा भौतिक क्षतिको स्थलगत निरीक्षण गरेको छ।
टोलीले निर्माण व्यवसायी संघ नुवाकोटका प्रतिनिधिसहित देवीघाट, ढुङ्गे, गेर्खुटार र शुभघाटलगायत क्षेत्रमा बाढीबाट भएको क्षतिको अवलोकन गरेको हो।
निरीक्षणपछि ढुङ्गेको बुद्ध मन्दिरको तल्लो भागदेखि त्रिशूली बजार जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माणलाई महासंघले उच्च प्राथमिकतामा राखेको अध्यक्ष पाण्डेले बताए। उनका अनुसार पुल निर्माणका लागि पूर्वाधार मन्त्रालयका प्राविधिक विज्ञसँगको परामर्शमा आवश्यक प्रक्रिया अघि बढाइनेछ।
पुल निर्माण भएपछि नुवाकोटसँगै रसुवा, धादिङ र गोरखाका ५० हजारभन्दा बढी स्थानीय लाभान्वित हुने तथा नुवाकोट जिल्ला अस्पताल, किस्पाङ र मेघाङ गाउँपालिका तथा विदुर नगरपालिकाका विभिन्न वडासँग विच्छेद भएको सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ।
निरीक्षण टोलीलाई विदुर नगरपालिकाका प्रमुख, नेपाली सेनाका अधिकारी र सडक डिभिजन कार्यालयका प्रमुखले बाढीबाट भएको क्षति तथा पुनःस्थापनाका लागि आवश्यक कदमबारे जानकारी गराएका थिए। टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, कार्यसमिति सदस्य देवराज पाण्डे र विशेष आमन्त्रित सदस्य ओपेन्द्रकुमार खड्का सहभागी थिए।